आर्थिक विकासमा बैंक तथा वित्तीय क्षेत्रको लगानी

आर्थिक विकासमा बैंक तथा वित्तीय क्षेत्रको लगानी

    कुनै पनि मुलुकको आर्थिक विकासको गति अगाडि बढाउन बैंकिंग क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अन्तर्राष्ट्रिय अर्थ व्यवस्थामा तीव्ररूपमा देखिएको उदारीकरण, भूमण्डलीकरण र निजीकरणको बढ्दो माग एवं चुनौती आत्मसात गर्न तथा उपक्षेत्रीय, क्षेत्रीय र बहुपक्षीय व्यापार विकासको अवधारणाप्रति नेपालको प्रतिबद्धतालाई आर्थिक विकासको माध्यम बनाउनका लागि पनि बैंकिंग क्षेत्रको ठूलो योगदान रहेको छ । यस अर्थमा बैंकिंग क्षेत्रको दिगो विकासबिना आधुनिक अर्थतन्त्रको कल्पनासमेत गर्न सकिंदैन । 
बैंकिंग क्षेत्रले लगानीकर्ताको माग पूर्ति गर्ने मात्र होइन, मुख्यरूपमा यसले वित्तीय साधन उपलब्ध गराउँछ । वित्तीय साधनको अभावले आर्थिक गतिविधिमा सङ्कुचन आएर अन्तत: यसले मुलुकमा गरिबी र बेरोजगारी बढाउने, आधुनिकीकरण र शहरीकरणको गति अवरुद्ध पार्ने, उच्च दरमा मूल्यवृद्धि हुने, जनतामा नैराश्य उत्पन्न भई समाजमा द्वन्द्व उत्पन्न हुने, हत्या–हिंसा र असुरक्षा बढ्ने तथा सामाजिक, आर्थिक र राजनैतिक विशृङ्खलता बढ्न गई मुलुक अधोगतितिर लाग्छ । वास्तवमा बैंकिंग क्षेत्रले बचतकर्ता र लगानीकर्ताबीच मध्यस्थको भूमिका खेल्दै समग्र अर्थतन्त्रको उन्नति एवं प्रगतिमा सहयोग पुर्‍याइरहेको हुन्छ । निक्षेपको रूपमा बचतकर्ताको बचत स्वीकार गरेको हुन्छ भने बचतकर्ताको बचतमा ब्याज थपेर सम्पत्ति बढाउन प्रोत्साहन दिन्छ । यसैगरी लगानीकर्तालाई उनीहरूका व्यापार, व्यावसाय, उद्योग, कलकारखाना र औद्योगिक प्रतिष्ठान सञ्चालनका लागि आवश्यक ऋण उपलब्ध गराई औद्योगिक एवं व्यावसायिक क्षेत्रमा सहयोग पुर्‍याइरहेको हुन्छ । बैंकिंग क्षेत्रको अभावमा लगानीका साधन र स्रोत जुटाउन अप्ठ्यारो पर्ने हुन्छ । जसको फलस्वरूप पूँजीको अभावमा लगानी गर्ने वातावरण निर्माण हुन सक्दैन । लगानी नभए आर्थिक क्रियाकलाप बढ्दैन र आर्थिक क्रियाकलाप नबढ्दा मुलुकको आर्थिक क्रान्तिको जग पनि बलियो हुन सक्दैन । त्यसैले कुनै पनि राष्ट्रले आफ्नो  मुलुकको दिगो आर्थिक विकासका लागि बैकिंग क्षेत्रलाई प्रमुख आधार स्तम्भ मानेको हुन्छ ।
    खुला तथा उदार आर्थिक व्यवस्थाका कारण विश्वका अन्य मुलुकहरूजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालनमा तीव्रता आएको छ । तर नेपालमा सञ्चालनमा आएका त्यस्ता बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनशील क्षेत्रभन्दा पनि अनुत्पादक क्षेत्रमा बढी भइरहेको छ । अनुत्पादक क्षेत्रमा गरेको लगानीले मुलुकको दिगो आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दैन । बैंक तथा वित्तीय संस्थाहरूको ओइरो मात्रै लागेर समाज र उपभोक्तालाई टेवा पुग्छ भन्ने होइन, मुलुकको दिगो आर्थिक विकास र उपभोक्ताहरूको बृहत्तर हितका लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउनै पर्दछ । विशेषगरी लगानीका सन्दर्भमा अहिले स्वदेशी बैंक तथा वित्तीय कम्पनीहरूले वाणिज्य बैंकहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपरेको छ । नेपाल राष्ट्र बैंकले विदेशी बैंकको शाखा स्थापना गर्न कानुनी ढोका खोलेपछि स्वदेशी बैंक तथा वित्तीय कम्पनीहरूका लागि अबका दिन निकै चुनौतीपूर्ण देखिएको छ । हुनत विदेशी बैंक तथा वित्तीय संस्थाको शाखाहरूको लगाानी गर्ने क्षेत्राधिकार तोकेर स्वदेशी बैंकलाई पनि प्रतिस्पर्धी बनाउन खोजिएको छ । केही वर्ष अगाडिसम्म १०/१५ लाख रुपियाँभन्दा कम लगानी गर्न नाक खुम्च्याउने स्वदेशी बैंक तथा वित्तीय संस्थाहरू उपभोक्ता कर्जाको नाममा अहिले विभिन्न कर्जा योजनाहरू लिएर प्रचारात्मकरूपमा अगाडि बढ्न थालेका छन् । उत्पादनशील क्षेत्रमा विभिन्न किसिमका सम्भावना र अवसरहरू छँदाछँदै वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले त्यसको खोजी नै नगरी शहरी क्षेत्रका मध्यमवर्गीय परिवारहरूलाई लक्षित गरी उनीहरूलाई सुविधाभोगी र विलासी बनाउने क्षेत्रमा लगानी केन्द्रित गरेको पाइन्छ ।
    उत्पादनशील लगानीका क्षेत्रहरू अहिले पनि प्रशस्त छन् । राष्ट्र विकासका लागि अति महत्त्वपूर्ण मानिएको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि मुलुक भित्र पर्याप्त सुधारहरू हुँदै गएको भए पनि त्यसका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारहरूको अभाव अहिले पनि देखिएको छ । त्यसैले यो क्षेत्रको दिगो विकास तथा विस्तारका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माणका लागि योजनाबद्धरूपमा लगानीका हातहरू बढाउनेतर्फ त्यस्ता बैंक तथा वित्तीय संस्थाहरू अग्रसर हुनुपर्दछ । त्यसैगरी कृषिजन्य उद्योग, वन पैदावार, जडीबुटी र आयुर्वेदिक औषधिहरू लगायत क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाहरूले स·ठितरूपमा लगानी गर्न सक्छन् भने वाणिज्य बैंकहरूमार्फत् भित्रिने रेमिटेन्सको ठूलो हिस्सालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आकर्षित गर्नुपर्दछ । नेपाल भित्रिने रेमिटेन्समध्ये अधिकांश घरजग्गा खरिद बिक्रीलगायत अनुत्पादक क्षेत्रमा मात्र खर्च हुने गरेका छन् । एउटा जागिरदार र पैसावाला ग्राहकभन्दा एउटा उद्यमशील ग्राहक नै बैंक तथा राष्ट्रको विकासका लागि उपयुक्त र फाइदाजनक हुन सक्दछ । यी कुरालाई मनन गरेर बैंक तथा वित्तीय क्षेत्रले आफ्ना ग्राहकहरूलाई उपयुक्त क्षेत्रमा लगानी गरेर कसरी पैसा कमाउन सकिन्छ भन्ने कुरा सिकाउनु पर्ने बेला आएको छ । 
    निक्षेपकर्ताहरूको हित अनुकूल निर्णय नगरेसम्म त्यो निक्षेप दीर्घकालीन लगानीको आधार बन्न सक्दैन । त्यसैले अब नेपालमा भित्रिने स्वदेशी तथा विदेशी बैंक र वित्तीय क्षेत्रले पनि लगानीका लागि सुविधाका क्षेत्र मात्र नखोजी केही जोखिम र चुनौतीपूर्ण क्षेत्र भएपनि नेपालको दिगो आर्थिक विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरणको सृजना गर्नुपर्दछ । उत्पादनशील क्षेत्रमा लगानीका सम्भावनाहरूको खोजी गरी त्यस क्षेत्रमा बढी लगानी गर्ने नीति लिएमा मात्रै त्यस्ता बैंक तथा वित्तीय क्षेत्र दीर्घकालीनरूपमा सफल बन्न सक्दछन् । अनि मात्र बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सामाजिक, आर्थिक र राष्ट्रिय दायित्व पूरा गरेको भन्न सकिन्छ । 
    उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्ने केही सम्भावनाहरू यस प्रकारका छन् :– 
शिक्षा क्षेत्र– शैक्षिक क्षेत्रको भौतिक पूर्वाधारहरू : जस्तै भवन, पुस्तकालय, प्रयोगशाला, शौचालय र खेल मैदान  निर्माणमा लगानी गर्न प्रोत्साहन गर्नुपर्दछ ।
स्वास्थ्य क्षेत्र– भवन तथा उपचार कक्ष निर्माण, प्रयोगशाला, स्वास्थ्य सम्बन्धी विभिन्न उपकरणहरूको खरिदलगायत मानवीय स्वास्थ्यसँग सम्बन्धित क्षेत्र । 
कृषि क्षेत्र– तरकारी, पशुपालन, दुग्ध, मासु, दलहन, तेल र नगदेबालीजस्ता सम्भाव्य उद्योग तथा आधुनिक कृषि औजार निर्माण गर्ने उद्योग । 
वन पैदावार क्षेत्र– जडीबुटी, काठ, बेंत, बाँस, ढु·ालगायत वन पैदावारमा आधारित साना तथा कुटीर उद्योगहरू
कला क्षेत्र– परम्परागत हस्तकला, मूर्तिकला, चित्रकलाजस्ता उद्योगहरू । 
पर्यटन क्षेत्र– पर्यटन प्रवद्र्धन उद्योगहरू जस्तै होटल निर्माण, पर्यटकलाई आकर्षित गर्ने खालका पर्यटकीय क्षेत्रमा आवश्यक मनोरम पूर्वाधारहरू बनाउने, सडक निर्माण, चिडियाखाना, पार्क निर्माणलगायत प्राकृतिक र जैविक सम्पदाहरूको संरक्षण तथा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने किसिमका उद्योगहरू । 
जनशक्ति विकास– प्राविधिक प्रशिक्षण, भाषा र रोजगारमूलक तालिम, वैदेशिक रोजगार अभिमुखीकरण तालिमजस्ता क्षेत्र । 
    मुलुकको विकासका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माणका क्षेत्र आदि । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Initial Public Offerings

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री

Pokémon Go has stopped working in Nepal.